गंगालालले बाहिरबाट आएर अगेनोको छेउमा बस्दै आगो फुक्दै गरेकी स्वास्नीलाई भन्यो-"तैले सुनिस् हैन 'बुढाले बिहे गर्छु भनेको कुरा -...
गंगालालले बाहिरबाट आएर अगेनोको छेउमा बस्दै आगो फुक्दै गरेकी स्वास्नीलाई भन्यो-"तैले सुनिस् हैन 'बुढाले बिहे गर्छु भनेको कुरा -" धनमायाले जाडोले नाकको टुप्पोमा अएको पानी मजेत्रोले पुछ्दै भनी-"सुनें त्यो त तर बुढाले आँटे भने हामी के गर्न सक्छौंब र -" "बुढाले बिहे गरे भने हाम्रो के हाल हुन्छ नि - त्यो पनि थाहा छ हैन तँलाई -"-गंगालालले तुजुकसाथ प्रश्न गरयो । स्वास्नीले नबोलेर लोग्नेतिर प्रश्नात्मक दृष्टिले हेरी । "आजसम्म धौ धौ खान पुग्दै थियो । भोलि देखि त्यही पनि पुग्न छोड्छ ।"-लोग्नेले भन्यो । "आफ्नो भाग लिइएर छुट्टउँ न त ।"-स्वास्नीले राय दिई । "छुट्टएि आधा पाइन्छ । आधी त बुढासँगै बस्छ । फेरि बुढालाई बिहेगर्न झन सजिलो हुन्छ । छरछिमेकी, जोरीपारीले पनि आ, छोराबुहारीले छोडेर यो बुढेसकालमा एक्लो पारे । बिहे नगरेर के गरुन् त बिचरा बुढाले - भनीहाल्छन् नि । जसो गरे पनि हामीलाई दोष ।"-लोग्नेले भन्यो । "के गर्ने त त्यसोभए - हामीलाई त कसै गरे पनि भलो छैन । बसे ताईमा उप|mे आगोमा पो भयो त ।" -धनमायाले जवाफ दिई । "यसो केही अक्कल लडा न, कसरी रोक्ने हो बुढालाइ - भनेर ।"-स्वास्नीलाई राय दियो गंगालालले । "बुढाले कुरो खाने मानिस कसैलाई भन्न लगाउनोस् न त ।"-स्वास्नीले राय दिई । "खै, कसलाई भन्न लगाउने - फेरि पनि बुढाले मानेनन् भने -"-लोग्नेले शङ्का उठायोे । "त्यो बेला देखाजाएगा ।"-स्वास्नीले कुरो टुंग्याई । स्वास्नीको भनाइ गंगालाललाई चित्त बुझयो र भन्यो-"अरुले भनेको त के सुन्लान् बुढाले - तै मीतबाले भनेको चैं मानिहाल्छन् कि !" स्वास्नीले पनि सहमती जनाएकीले ऊ मीतबाबुकोे घरतिर लाग्यो । गंगालाल ३१ वर्षा हिडदै थियो । उसकी स्वास्नी धनमाया लोग्नेभन्दा तीन वर्षमात्रै कान्छी थिई र लोग्नेले ऊ सँग जे कुरा पनि सल्लाह लिन्थ्यो । हुनत गंगालाललाई मन नपराउनेहरु 'यो गंगे स्वास्नीको मुतमा बग्छ, स्वास्नीले मुत् भने मुत्छ , हग् भने हग्छ' भन्थे तापनि सल्लाह लिने दाजुभाइ, दिदीबहिनी नभएकाले कि बाबुसँग कि स्वास्नीसँग सल्लाह लिनै पथ्र्यो उसले । आमा हुदा पनि आमा साह्रै सोझी भएकीले उनीबाट कुनै सल्लाह पाउने आशा नै हुन्नथ्यो । घर भित्रको कुरामा पनि बुढोले समेत बरु बुहारीको कुरा सुन्दथ्यो बुढीको भन्दा । अरु त अरु छोरालाई पनि यो उसकी आमाको छोरो, आमा जस्तै ग्वाँजे छ, बुहारी धेरै जान्दछे भनेर केही पर्दा बुहारीको नै राय माग्दथ्यो । हुन पनि छोरो सोझो थियो बौलाहा खालको सोझो । रिस उठे पछि र आफूलाई चित्त नबुझे पछि ठीकबेठीक छुट्याउन नसकेर आफ्नो, अर्काको ज्यान लिएको पनि पत्ता नपाउने । बुढी मरेको वर्षदिन सम्म त बुढो केही बोलेन । दोश्रो वर्षो आधाउधीमा उसले आफ्नो बिहेको मनशाय छोराबुहारी सामु राखेको थियो । उसले भनेको थियो-"एक दिन होइन, दुई दिन होइन । जिन्दगी भरको कुरा हो । सद्दे हुन्जेल त सजिलै छ । विरामी भए पछि त तिमीहरुलाई पनि बुढाको हेरचाह गर्न गाहारो म आफूलाई पनि मरुँ कि बाँचूँ हुने । बरु अहिले नै बिहे गरुँ कि - कसो भन्छौ तिमीहरु -" छोरो बाबुको कुरो सुन्ने बित्तिकै रन्थनियो । ऊ सँग धैर्य सँग कुरा सुनेर समाधानगर्ने क्षमता थिएन । त्यो देखेर बुहारीले बिचैमा भनी-"अब बालाई हामीले के भन्नु र - जस्तो राम्रो हुन्छ त्यस्तै गर्नु पर्छ नै ।" स्विकार, नकार केही नजनाई दिइएको बुहारीको जवाफको बुढाले कुनै अर्थ निकाल्न सकेन तर त्यो समयमा छोराबुहारीलाई आफ्नो चाहना सुनाउनु थियो । त्यो सुनाइहालेकोले त्यसमा अरु थपगर्न उचित ठानेन । बिहेको निम्ति उनीहरुलाई तयार पार्नु त लामो कुरा थियो । बुढाको सम्पत्ति ठूलो थिएन । आफैले कमाइ गरेर दुई बाली लगाउदा पनि ३०।३५ मुरी अन्न मरेर भित्रिन सक्थ्यो । बारीको तुलफूल, सागपात, बाख्रोपाठोले वर्षदिन बलैले तानिन्थ्यो । तीन वटा नातिनातिनी समेत गरेर खाने मूख पनि पर्याप्त थिए । सानो नैे पनि पाँच वर्षो भइसकेको थियो एक भाग खान सक्ने । तर त्यही सम्पत्ति पनि विभाजित हुदा गंगालालका पाँच पेट पालिन गाहारो थियो र त्यसले ऊ जस्तो सोझो मानिसलाई उत्तेजित बनाउनु स्वभाविक थियो । स्वास्नीले सल्लाहदिने बित्तिकै गंगालाल मीतबाबु कहाँ हानिनुको कारण पनि त्यही थियो । बेलुका गंगालालले स्वास्नीलाई भन्यो-"मीतबाले मानेनन् बालाई सम्झाउन ।" धनमायाले दीयो मनि बसेर तुन्नलागेको कपडाबाट आँखा नहर्टाई सोधी-"किन के भने र -" उसले जवाफ दियो-"मीतबा बुढा त भन्छन्-'तँ बाको कुरा बुझिदे न, गंगा । आमा हुदा कस्तो हुनुहुन्थ्यो र अहिले कस्तो हुनुभएको छ स्याहार नपुगे जस्तो ।' मैले भनें-'अब आमा हुदा जस्तो त कहाँ हुन्छ त - हुनेसम्म हेरचाह मैले, बुहारीले गरेकैछौं ।' बुढाले भने-'गरेकाछौ तिमीहरुले, गरेकाछौ आफूले गर्नसक्ने जति, गर्नहुने जति । बा पनि त्यसै भन्नुहुन्छ । दोष दिनुभएको छैन बाले पनि, सह्रानी नै गर्नहुन्छ तिमीहरुको तर स्वास्नीले गर्नुपर्ने काम छोराबुहारीले गरेर कहाँ हुन्छ र - गर्न पो कहाँ सक्छन् र - त्यसो पो त कुरा त ।' अनि त मैले पनि बुझिहालें बुढाले भन्दैनन् भनेर । अनि 'अहिले जान्छु त म' भनेर फर्केर आएँ । "मलाई त ठीकै हो कि जस्तो लाग्यो मीतबाका कुरा पनि । बालाई साथी चाहिएको हो ।"-धनमायाले भनी । "साथी चाहिए हामी छैनौ र -"-गंगालाल जंगियो । "बाको उमेर ने कति भएको छ र - पचास पुग्न पनि अझ दुई वर्ष बाँकी नै छ । गैराघर बाका छोरा, कति-, अठसठ्ठी वर्षा जन्मिएका होइनन् - गैराघर बा अझै ठमठम गर्दै वल्लो पल्लो गाउँ गर्दैर् हुनुहुन्छ ।"-धनमायाले राय दिई । "गैराघर बाको त के - औलाधौला धन छ । छोरो थिएन, बिहे गरे । तँ पनि बुढाकै कुरामा सही थाप्छेस् । हैन - यो सम्पत्ति फ्याक्क दुई फ्याक पारेर दुई भाग लगाएपछि खान नपाउदा थाहा पाउलिस् ।"-गंगालाल रिसायो । स्वास्नीले तुरुन्तै आफ्नो भुल सुधार्न भनी-"हैन, मैले त मीतबाका कुराका बारेमा पो भनेकी त । बाको बिहे गर्ने कुरा त मलाई पनि कहाँ चित्त बुझेको छ र - तर रोक्ने पो कसरी - यसो एक पल्ट बालाई नै सम्झाउनोस् न तपाईले नै । त्यसो गर्दा भइहाल्छ कि -" "कहिले सुनेका थिए मेरा कुरा र सुन्छन् अब -"-लोग्ने झर्कियो । "एक पल्ट कोशिश गर्दैमा केही ब्रिग्रदैन । राजा र बाबुका अगाडि साँचो कुरा राखेपछि न्याय पाइन्छ भन्छन् । के भयो त भन्दैमा -"-स्वास्नीले कडा स्वरमा भनी । बाबुछोराको ठ्याक मिलेको धनमायाले कहिले पनि देखेकी थिइन । बाबुले 'पाङ्रो' भन्यो भने छोरो 'बल्ड्याङ्रो भन्न पुग्थ्यो । सानो छदा आमाले मध्यस्थता गर्थी रे । कतिपय स्थितिमा धनमायाले नै मध्यस्थता गर्नु परेको थियो । आमा मरे पछि त धनमायालाई यस्तो मध्यस्थताको स्थिति बराबर आइनैरहन्थ्यो । त्यसैले बाबुछोराका कुराले समस्या समाधान हुने त उसले देखेकी थिइन तैपनि 'बुहारी भन्दा छोरो नजिक हुनुपथ्र्यो, माया उसको नै बढी हुनु पर्थ्यो भनेर गंगालाललाई बाबु कहाँ पठाएकी थिई । दोश्रो, बाबुको बिहेको पक्षमा छोरो छैन ्भन्ने बाबुले जान्नु पनि आवश्यक थियो र त्यो कुरा भन्न छोरो नै सबभन्दा बढी उपयुक्त हुन्थ्यो । गंगालालको चिन्ता स्वाभाविक थियो तर समस्याको समाधान के त - धनमायाले पहिल्याउन सकेकी थिइन । त्यो समस्या सजिलो पनि थिएन । छोराको समस्या जति वास्तविक थियो बाबुको पनि त्यत्तिकै थियो । खाने लाउने जीविका छोराको अहम् सवाल थियो भने बाबुलाई स्वास्नी ल्याउनु अत्यावश्यक । धनमायाले दुवैका वाध्यता बुझेकी थिई तर ऊसँग समयलाई बग्नदिनु र घटनालाई घट्नदिनु बाहेक अर्को विकल्प भएन । स्वास्नीको भनाइ मानेर गंगालाल बाबु कहाँ गयो र आफ्नो राय सुनायो । हो, कसरी सुनायो - त्यो कुरा अलग्गै हो । केही गानगुन पछि नै बाबुको प्रचण्ड स्वर सुनियो-"मैले जन्माएको छुसीले मलाई तर्सउना खोज्ने ! जा, के नाप्छस् नाप । म मेरो खुशी गर्छु मलाई धम्क्याउने तँ - जा, निस्की यो मेरो घरबाट । स्वास्नीछोराछोरी बोकेर निस्किहाल ।" गंगालाल पनि बम्किदै थियो । धनमनया गएर कर्राई-"किन कराउनु भएको बासँग - आफूलाई मायागर्ने, आफ्नो भलो चिताउनेसँग चैं झगडागर्नु पर्ने किन नि - हिडनोस् उता ।" गंगालाल धनमाया द्वारा ठेलिदैगयो । पछि धनमायाले ससुरालाई भनी-"के गर्नु - आफ्ना छोराको व्यहोरा बालाई थाहाभएकै कुरा हो । बाले आफू खुशी गरे पनि नातिनातिनीको मुख हेरेर रिसाइदिनु भएन । अरु त म के भनूँ -" बुढोले पनि सहानुभूतिसाथ भन्यो- "तिमीहरुसित केको रिस मेरो - त्यही बौलाहासँग पनि रिसाएर के गर्नु - 'ज्यान जाला आफूखुशी गदार्' भन्यो र पो रिस पनि उठ्यो, चित्त पनि दुख्यो ।" बुढोको भनाइमा पीडा भएको धनमायाले अनुभव गरी । छोरोले सोच्यो-'बाबु तर्सिए' । लामो चिन्तन नभएका मानिस कुनै कुराको प्रभाव तत्कालै मात्र देख्दछन् । 'मैले तर्सएँ बाबुलाई' भनिठान्यो उसले तर बुहारीले बुझेकी थिई-छोराको धम्कीले भलै बाबुको मनमा चिसो पस्ला तर आफ्नो निर्णय त्यति सजिलै छोड्दैनन् । छोरोलाई भन्नुपर्ने कुरा बाबु सधैं बुहारी मार्फत नै दिने गर्दथ्यो ।उसले त ससुराका तर्फाट लिइने कारवाहीको निम्ति तयार भएर बस्नु परेको थियो । नभन्दै एक दिन गंगालाल गोठ बेंसी कही गएको बेला ससुराले बुहारीलाई भन्यो-"बुहारी ! गंगे छुट्टिन्छ भने म अंश दिइदिन्छु । सोधिहेर उसलाई ।" धनमायाले ससुरातिर पुलुक्क हेरेर भनी-"बालाई के ढाँटनु - यही छुट्टिनु पर्छ भन्ने पीरले हो वहाँलाई त्यस्तो बनाएको । अब बाको कुरा मैले के सुनाउनु -" बुढोले जिल्ल परेर भन्यो-"केको पिर छुट्टिनु पर्दा - सबैका छोरा छुट्टिन्छन् । त्यसमा पनि म त झन उन्ननइस वर्षा छुट्टएिको । गंगे त ३१ वर्षो भइसक्यो ।" "अंश लिएर छुट्टएिपछि त खान पनि पुग्दैन । त्यो त बालाई थाहा छदैछ । जवार्ँमर्दले भए भन्ने थियो-'अंशले नपुगे अर्काको बनी गरेर भए पनि स्वास्नीछोराछोरीलाई खुवाउछु' तर वहाँको त आत्मा नै कमजोर छ, बुध्दि नै छोटो छ । सधैं बाको भरमा बस्नुभयो र आज बाको आश्रय छुट्न लाग्दा आत्तिनथाल्नु भएकोछ ।"-बुहारीले आफ्नो कुरा सुनाई । "मेरो खुशी पनि गर्न नदिने, छुट्टनि पनि नछुटि्टने । अब कसरी मिल्छ त कुरो -"-बुढो अलि रन्कियो । बुहारीले एकछिन सोचेर ससुराको मुख हेरेर भनी-"बा ! यो समस्याको कहीं मध्यमार्गी समाधान छैन -" "कस्तो मध्यमार्गी समाधान भनेको -"-ससुरोले बुहारीतिर हेरेर सोध्यो । "त्यही साप पनि मरोस्, लठ्ठी पनि नभाँचियोस् । छोराको डर पनि मेटियोस्, बाबुको आवश्यकता पनि पुरा होस् ।"-बुहारीले अझै पनि छोटकरीमा नै कुरा राखी । "मैले बुझिनँ, बुहारी, तेरो कुरा ।"-ससुरो अझै पनि रनभुल्ल थियो । बुहारीले बिस्तारै कुरा थाली-"पुस्ता पुस्ता अझ शृष्टिदेखि चलेको कुरा हो । आमाबाबुले छोरा जन्माउछन्, हर्ुकाउछन् र फेरि बुहारीको जिम्मा लगाउछन् । 'ला, गरी खा' भनेर आफ्नो सम्पत्ति भाग लगाइदिन्छन् । छोरा त्यही बाबुआमाले दिएको खान्छन्, सके बढाउछन् नसके सिध्याउछन् । छोराले पनि बुढेसकालमा आमाबाबुलाई आफूसँग भएको दिएर सुखी राख्न खोज्दछन् । मातृभक्ति, पितृभक्ति पनि यही होला ।" "आफूसँग छैन भने नि -"-बुढोले प्रश्न गर्यो । "छेैन भने पनि मागेर, चोरेर भए पनि जुटाइदिनु पर्छ बाबुआमालाई । यो छोराको धर्म हो । नसक्दाको त ओखती छैन । आमाबाबुले पनि नपाइने कुरा खोजेर अत्तो थाप्नुहुदैन ।"-बुहारीले व्याख्या गरी । "मैले अत्तो थापेको छैन । भएको कुरा दिन्छु भनेकै छु ।"-बुढोले घर्ुर्की देखायो । धनमायाले लामो सास फेरेर भनी-"परिवारमा जहिले पनि दुई चिज,सम्पत्ति र आइमाई, अंश लाग्दै आएकाहुन् । सम्पत्ति जहिले पनि बाबुले या छोरोले मात्रै लिन खोजे कलह उब्जन्छ र कालले मात्र त्यसको टुंगोे लगाइदिन्छ । घरकी आइमाई पनि सधैं लोग्ने र छोरामा बाँडिएर बसेकी हुन्छे । लोग्नेकी मात्र हुन खोजी भने छोरो बिग्रन्छ, छोराकी मात्र हुन खोजी भने लोग्ने हिडिदिन्छ । त्यसैले ऊ छोरालाई दुध पनि खुवाउछे र लोग्नेको इच्छा पनि पुरा गरिदिन्छे । छोरो ठूलो नहुन्जेल बाबुको प्रत्येक प्रहारमा आमा बिचमा छिरेर डडाल्नो थापिदिन्छे र छोराको उमेर पुगेपछि आफ्नो छोरो बुहारी भन्ने त्यो अर्की आइमाईलाई सुम्पिदिन्छे ।" बुहारीको त्यो लामो भनाइ सुने पछि ससुरोले मनले उसको बुद्घको सह्रानी गर्यो र मुखले भन्यो-"खै, तेरो भनाइ नै लामो छ टुंश्ङ्गोमा पुग्नै गाहारो ।" धनमायाले आफ्ना कुराले ससुरोमा प्रभाव परेको बुझी र आफ्नो भनाइको डोरी कस्नथाली-"असजिलो कुराको व्याख्या पनि असजिलो हुन्छ र त्यसलाई भूमिका पनि लामो चाहिन्छ । यो घरको सम्पत्ति विभाजित भयो भने तपाईका छोरा बौलाउनु हुन्छ । यो मैले बुझेको कुरा हो र वहाँ बौलाए पछि के गर्न सक्नुहुन्छ त्यो म भन्दा तपाईलाई बढी थाहा छ । त्यस पछि त धन पनि सिद्घन्िछ, घर पनि डुब्छ । सम्पत्ति विभाजनको परिणाम यही हो ।" "मेरो हेरचाह, मेरो इच्छापूर्ति गर्नु पर्दैन त छोरोले - के म स्वास्नी ल्याउनै नहुने बुढो भइसकें -"-ससुरोले आफ्नो कुरा राख्यो । बुहारीले ससुरोको कुरा र्भैमा खस्न नपाउदै टपक्क टिपेर जवाफ दिई-"पर्छ, अवश्य पर्छ । त्यो छोराकेा कर्तव्य हो तर छोराले सधैं गर्छन् भन्ने छैन । त्यसैले त बाबुछोराका बिचमा विवाद उठ्छ, झगडा चल्छ । आमा हुदा त समस्या समाधान आमाहरूले गर्छन् तर यो घरमा आमा हुनुहुन्न । भएकी आइमाई केवल म मात्रै हुँ । विदुर ससुरोलाई सासू खोजिदिनुपथ्र्यो मैले तर लोग्नेले अस्विकार गरे पछि मैले खोजिदिन मिलेन । कति विवश छ स्वास्नीमानिस - लोग्नेको स्विकृति बिना त ऊ बुहारी पनि भित्य्राउन सक्दिन भने सासूको त कुरै छोडिदिऊँ ।" "त्यो त फेरि कुरो शुरुमा नै आइहाल्यो नि ।"-ससुरोले खिस्सी गर्दै भन्यो । बुहारीले ससुरोको भनाइ वास्ता नराखी भन्दै गई-"सम्पत्ति विभाजनको परिणाम घातक हुने भए पछि आइमाई विभाजन आवश्यक भइसक्यो । त्यो विभाजन आमाको जस्तो अवश्य पनि हुन सक्दैन तर न मामा भन्दा कानु मामा निको भन्छन् त्यस्तो चाहीं हुन्छ । म तपाईको सेवसुश्रुषा गरिदिन्छु ।" "स्वास्नीको जस्तो सेवासुश्रुषा कहाँ हुन्छ बुहारीबाट -"-ससुरोले स्वतः आपत्ति जनायो । "स्वास्नीको जस्तो नहोला तर बुहारीको जस्तो पनि नभएर एउटी आइमाईको जस्तो त हुनसक्छ । तर यसमा मूल कुरो, सबै कुरा बिर्सेर तपाईले यसलाई स्विकार्न सक्नुपर्छ । यो घर बिग्रनबाट जोगाउन तपाईको पहिलो जिम्मेवारी हो ।"-बुहारीले दह्रो अडान लिई । "ल, मान्छु तैंले भनेको कुरा ।"-ससुरोले बुहारीको तर्कसँग हार्दै भन्यो । "कुनै दिन यो घरमा बुहारीको जरुरत पर्यो, तपाईहरुले, अझ आमाले, मलाई ल्याउनु भयो । सन्तान वृद्घिको निम्ति यो स्वाभाविक नियम थियो तर अहिले यो घरमा बाबुको निम्ति एउटी आइमाईको जरुरत पर्यो, सन्तानवृद्घिको निम्ति त अवश्य पनि होइन ।"-बुहारीले ससुरोतिर हेरी । "हो त्यो पनि ।"-ससुरोले सत्य बोल्यो । बुहारी दृढ स्वरमा भन्दै गई-"त्यसोभए आजको यो विध्वंशकारी समस्याको समाधानको एक मात्र उपायको निम्ति अबदेखि म, सबै घरकी मूल आइमाईले गरे जस्तै तर उल्टो अर्थमा र कर्तव्य र वाध्यता दुवै कारणले, अंशको रुपमा आफूलाई दुई चिरामा विभाजित गरिदिन्छु । मूलतः म यो घरकी बुहारी रहनेछु तर मेरो लोग्नेको अनुपस्थितिमा यो घरकी आमामा परिणत हुनेछु अथवा तपाईकी स्वास्नी बनिदिनेछु । तपाईहरूको समस्या समाधान गरिदिनेछु म र तपाईमाथिको मेरो अधिकार बुहारीको होइन सधैं स्वास्नीको हुनेछ । त्यो द्वैध भूमिका म सधैं गर्नेछु । अरु सेवसुश्रुषा त मैले यसै पनि गर्नै पथ्र्यो । ल भन्नोस् - यसलाई आजको समस्याको समाधान मानूँ म -" के भन्न सक्थ्यो बिचरो ससुरो । उसले बिहेगर्ने विचार नै छोडिदियो ।
No comments
तपाई लाई लाग्छ कि यो वेबसाइट मा केही सच्याउनु पर्ने छ भने कमेन्ट गर्नु होला । तपाईको सल्लाह, सुझाव अतिनै आवश्यकता छ । तपाईले गर्नुहुने कमेन्ट लाई मान्यता दिँदै संसारको सामु पुर्याउने कोशिश गरिने छ । तपाईको कमेन्ट साधारण, सभ्य भाषा मा लेख्नु हुन विनम्र अनुरोध गरिएको छ । यो वेबसाइट लाई फल्हो पनि गर्नु होला । फल्हाे गर्नु भयो भने कुनै पनि नयाँ पोस्ट पोस्टिङ हुने बितिकै तपाईको सामु सही समय मा पुग्ने छ । धन्यवाद !