महानगर - DB BASNET

Page Nav

HIDE

Grid

GRID_STYLE

Classic Header

{fbt_classic_header}

Top Ad

Breaking News:

latest

Ad

महानगर

रात मध्यतिर छुन लागेको थियो र महानगर भनिने सहरहरु सुनसान र निस्प्राण हुनु पर्ने समय अझ नसके पनि काठमाडौं सहर भर्खर प्रहरी छापा पारेको रण्डी ...

रात मध्यतिर छुन लागेको थियो र महानगर भनिने सहरहरु सुनसान र निस्प्राण हुनु पर्ने समय अझ नसके पनि काठमाडौं सहर भर्खर प्रहरी छापा पारेको रण्डी कोठी जस्तो निस्तेज र चिसो थियो । सडकको बत्तीको प्रकाशमा देखिने धमिलो हुस्सुले त्यो भयावहता र चिसो पनमा अझै मात्रा थपिदिएको थियो । टोलका भुस्याहा कुकुर छिडी, कोप्चो अन्तर कन्तरमा लुक्न पुगिसके पनि कहीं कहीं बाट अल्छि पाराको भुक्क भुक्क भने सुनिंदै थियो । हावा, थिएन, त्यसैले तापको चिसोपन त कम नै थियो तापनि वातावरणको गर्‍हँगोपन भने सडकमा ओछ्याइए जस्तो लाग्दथ्यो । यही आर्द्र र भारी सडकको छातीमा आफ्ना जुत्ताको डाम छोड्दै माधवी छिटो चालले पाइला चालिरहेकी थिई । महानगर भन्दा पनि बत्ती बालेर सडक ओछ्याइएको गाउँ जस्तो निर्जीव र निस्तेज काठमाडौं उसको जन्म थलो थियो, उसको कामकाजको थलो थियो र यसलाई जति नै मन नपराए पनि छोडेर जान सक्दिनथी ऊ । आज झमक्क साँझ परे देखि नै माधवीलाई आफ्नो घर छोड्न मन थिएन र उसले शंृगार पनि गरेकी थिइन । आज दिन धेरै उज्यालो थियो र पछिल्लो प्रहर झ्यालको डण्डी समाएर वाहिर मानिसको सिलिंग मिलिंग ओहोर दोहोर हेर्दै बिताएकी थिई । यस्तो भिडमा उसलाई जहिले पनि विरक्त लाग्दथ्यो र मानिसको हुलमा हिंड्नु पर्दा ऊ पाइलै पिच्छे तर्सिन्थी । साँझ पर्दै गएपछि भने मानिसको चहल पहल सेलाउँदै गयो र झमक्क साँझ पर्दा त फाट्ट फुट्ट मात्र मानिस देखा परेथे । यसरी मानिस हतार हतार आफ्नो ओसारोमा घुस्रेको देखेर अचम्म लागेयो उसलाई । किन- किन- माधवीलाई लागेथ्यो -कोही त आउनु पर्ने हो । को- थाहा छैन उसलाई । प्रतिक्षा त एउटा चाहनाको अनुभूती मात्र थियो । मनको भित्री कुनामा एउटा सजीव मूर्ति आउनु पर्ने आभाष हुन्थ्यो तर त्यो मूर्तिको रुप आँखा सम्म आएर अड्किए जस्तै । चारुमतिको फोन आउँदा माधवी सोफामा लम्पसार परेकी थिई र घन्टी सुनेर सोफा बाट हात तन्काएर रिसिभर उठाउँदै अल्छि पाराले भनेकी थिई -माधवी हेयर । उसको स्वर सुनेर चारुमतिले भनी -तँ तुरुन्त तयार भएर यहाँ आइज त । यहीं म कहाँ । माधवीले आलस्य भरिएको स्वरले भनी - आज मलाई केही गर्न मन नै छैन । त्यसो भन्नै मिलेन, माधवी । ग्राहक आज अलि बढी नै छन्, त्यसमा पनि सेवा अस्विकार गर्नै नमिल्ने ग्राहकहरु । बरु यसो गरुँला । तँ पार्ट टाइम सर्भिस गर, फूल टाइम अरुलाई दिउँला -चारुमतीले सुझाव राखी । पेशा आखिर पेशै ठहर्‍यो ढाडै अस्विकार गर्न नमिल्ने । आपसी सहयोग अत्यावश्यक थियो । त्यसैले उसले चारुमतीको प्रस्ताव अस्विकार गर्न नसकेर हतार हतार सिंगार गरेर फेरी र घरवाट निस्किएकी थिई । माधवीका अभ्यस्त कानले कहींवाट आएका पदचाप सुने । निशाचर भएपछि रातमा निस्कने कुनै आवाजलाई सुनेर छुट्याउन पर्ने हुनाले प्रत्येक पदचापलाई सुनेर पनि चिन्न सक्नु पथ्र्यो । मानिसका पदचाप सँग माधवी सधैं सशंङ्कित हुन्थी त्यसमा पनि प्रहरी पदचाप सँग । प्रत्येक निशाचरका आतंक पनि यिनै पदचापहरु हुन्छन् । आफ्नो पछाडी प्रहरी पछ्याइरहेको छ भन्ने बुझे पछि माधवीले आफ्नो पाइला अझ छिटो छिटो बढाई । उसलाई थाहा थियो -केही समय पछि नै उनीहरुको बिचको दूरी क्रमश घट्दै गएर भेटिने छ तर त्यो समयलाई जति लम्ब्याउन सक्थी त्यती नै उसको उम्कन सक्ने सम्भावना बढ्न सक्थ्यो । पहिलो पटक ऊ अनुभव नहुनाको कारणले प्रहरी हातमा परेकी थिई । अज्ञात व्यत्तिहरुद्वारा जिीक्याइएकी र लखेटिएकीले ऊ शरण लिन प्रहरी कहाँ पुगेकी थिई । उसलाई देख्ने वित्तिकै पहिलो प्रहरीले भनेथ्यो - के पर्यो, बहिनी, यो राती - माधवी यस्ता प्रश्नको निम्ति तयार थिइन । ऊ त असिना पर्दा नजिकैको ओतमा लुक्न पुगेकी थिई र त्यहँा प्रश्न हुन सक्छन् भन्ने सोचेकी पनि थिइन । को हो ए माने - -कसैले भित्रवाट प्रश्न गरेथ्यो । अरु को हुन्छ, साप, यो मध्य रातमा र उही त होला नि । मानेको भनाइमा व्यंग्यात्मक मुस्कुराहट थियो । त्यसपछिको केरकार, अश्लिल शब्द र त्यसपछिको अनुभव स्वयम् एउटा कथा थियो । त्यो अनुभव फेरी दोहोर्‍याउन नचाहे पनि फेरी एक पटक गल्तीले र अर्को पटक दुर्भाग्यले प्रहरी पन्जामा परेकी थिई । अहिले ऊ बच्न चाहन्थी र त्यो कुरा भाग्यमा निर्भर थियो । ऊ त्यो भाग्यलाई आफ्नो पक्षमा ल्याउन चाहन्थी । पदचाप वढ्दे क्रमश नजिक हुदै आइरहेका थिए । माधवीले चारैतिर कान लगाई । कहीं कोही बराबराइरहेको थियो । राधा पियारी, भनेको मान्दिनौ, राधा पियारी । माधवीले सोची ऊ वचावटको ढाल बन्न सक्थ्यो । ऊ छिटो छिटो पाइला चालेर उसको नजिक पुगी । जँड्याहा बत्तीको खम्बालाई अँगालो मारेर भट्भट्याइरहेको थियो । सत्ते, गाली नगरन । आज साथी भाईले खाउँ न भनिहालेर पो त, नत्र म खाने नै थिइनँ । माधवीले उसलाई घच्घच्याएर भनी - हिंड, हिंड, घर हिंड । कति घिच्नु- आधा रातसम्म यसरी बस्नु हुन्छ- एकाएक प्रत्यक्षमा स्वास्नी अगाडि उभिएकी देखेर जँड्याहा जिल्लियो, तर्सियो र विनित भावमा भन्न थाल्यो -हेर न, राधा । अव त सत्ते खान्न नि । तेरो मासु खाने खान्न । म्ाधवीले राधाको नक्कल गर्दै भनी -मुखले त कहिले पो हाल्दैनौ र- कामले सधैं घिचेकै छौ । जँड्याहालाई एक काँध तिर भर दिएर माधवीले उठाउन खोजी र जँड्याहा लरबरिंदै उठ्यो । जड्याहा भारी थियो निकै भारी तर त्यो भार उठाउन माधवी तयार थिई । तलब पा'को कि अनि पो यस्तो भयो त ।-उसको स्वरमा क्षमायाचना थियो । पदचापहरु नजिक आईपुगे । एउटा स्वर सुनियो । ए, को हँ तिमीहरु यो आधी रातमा - माधवीले एउटी गृहिणीको नकल गर्दै भनी-मेरा जहान सा'प । अलि बढी खाएछन् आज । घर लिएर जानलागेकी । कहाँ बाट आएका त यो आधी रातमा - हिड्दै ढिलो भयो, सा'प । फेरि फलामे ढिको जस्ता गहौं छन् यी । - माधवीले कति पनि नआत्तिई जवाफ दिई । समय र वाध्यताले उसलाई परिपक्व बनाएको थियो । के घिसार्छेस् त मोरालाई - बैंस छ त अझै ।- एउटाले व्यंग्य कस्यो । के गर्नु, हजुर - घरका दुइटा छाउराका निम्ति पनि घिसार्नै परेको छ । - माधवीले वाध्यता देखाई । जड्याहाको आधा नसा प्रहरीको उपस्थितिले नै हराइसकेको थियो तापनि मरेको मुर्दा झै भएर माधवीको काँधमा अडेस लागेको थियो । कति पटक भोगिसकेको चिसो छिडी फेरि भोग्न उसलाई रहर थिएन । माधवी स्वास्नी होईन भन्ने निश्चित भए पनि त्यसलाई स्विकार्रगर्न श्रेय ठानेर ऊ मौन थियो । त्यो जँड्याहाकी स्वास्नीलाई के केरकार गर्छस्, ए हस्ते - बरु त्यो अघिकी माल कता लागी सोध्न ।-हस्तेको साहेबले भन्यो । एउटी आइमाई यता लागेकी थिई । कता गई, हँ - देखिस् तैंले --हस्तेले माधवीलाई सोध्यो । यी घोक्रो फुटुन्जेल कराउदै थिए म सँग । कोही आए गएको थाहा पाईनँ, सा'प । यो फलामे ढिको बोकेको बेला त बरियातै गएको पनि के थाहा हुन्छ र --माधवीले देखेशो पोखी । पुर्याई दिउँ त त्यसलाई हामी --एउटाले ठट्टा गर्यो । भै हाल्यो । सा'पहरुलाई किन दुख - यहाँ सम्म घिसारें भने अब त कति नै छ र - फेरि जिन्दगी भर घिर्सार्नु पर्नेले यति दुख के मान्नु --माधवीले कृत्रिम पीर व्यक्त गरी । प्रहरी पदचापहरु हट्न सुरु गरे । अघि मरे जस्तो गरेर चलमलाउन छोडेको जँड्याहा बिम्तदै गयो र नजानिदो किसिमले माधवीको शरिर सँग खेल्न थाल्यो । माधवीले कुनै आपत्ति गरिन । त्यो शरिर भनिने काँचो मासु एउटाले आभा रात सम्म मोल तिरेर लेछेको थियो र त्या मासु सित्तै खान खोज्ने एक हुललाई एक छिन अघि मात्र शब्द र अभिनय जालले पन्साएर पठाएकी थिई । अघि भर्खरै मात्र लुछिएको जुठो सिनोलाई एउटा लोभी श्यालले मौका पाएर चाटदैमा उसलाई के आपत्ति हुन सक्थ्यो र - त्यसलाई त ऊ जहिले पनि पन्साउन सक्थी तर अहिले नै पन्साउन चाहन्नथी किनकि उसको अँगालोमा बाँधिएर एकछिन उसकी स्वास्नी बनिदिदा ऊ अरुबाट सुरक्षित थिई । जँड्याहा माधवी सँग डोहोरिदै गयो । राधा पियारी, भनेको मानिनौ, राधा पियारी । माधवीको घर आइपुग्न अब धेरै टाडा थिएन । प्रहरी पनि अब बिलाइसकेका थिए तर जँड्याहाको हातपात भने बढ्दै गइरहेको थियो । त्यो देखेर माधवीले मनमनै हाँस्दै भनी-ए , के गरेको – बोलाइदिऊँ प्रहरी - जड्याहा अलिकति हच्कियो तैपनि भन्दै थियो- तिमी राधा पियारी । माधवीले दह्रो स्वरमा भनी - जँाड खाएर जो भेट्यो त्यसैलाई राधा पियारी भन्दै हिड्ने - जुत्ताले बजाउछु थाप्लोमा अनि । तिमीले अघि स्वास्नी भनेको होइन - - जड्याहाले सुरका कुरा गर्यो । लौ । हिडने सकिन भन्यो भनेर झन यहाँ सम्म लिएर आइदिएँ त झन उल्टो मलाई नै स्वास्नी भन्ने - बोलाऊँ मेरा टोलका केटाहरुलाई - - माधवीले पर सरेर धम्क्याई । आधी नसा छुटेको जँड्याहा कस्ता कस्ता हुन्छन् आइमाई पनि - भन्दै धरफरिदै आफ्नो बाटो लाग्यो । माधवी एक्लै हाँस्दै घरको मूल ढोका भित्र पसी र आफ्नो कोठाको साँचो खोल्न थाली । उसको ढोका बजेको सुनेर घरबूढीले सोधिन्-आज किन चाँडै त, नानी - पेट दुखेकोले छुट्टी लिएर आएकी, आमा । आज जान मन नै थिएन । अफिसबाट फोन आयो र मात्रै गएकी । - माधवीले जवाफ दिई । खै भनेको मान्नुहुन्न रातिको डिप्टी नगर्नोस् भन्दा । राति काम गर्दा त जिउ पो बिग्र्न्छ त । -बुढीले आफ्नो राय प्रकट गरिन् । माधवीले जवाफ दिइन । बुढिया फेरि निदाइन् । माधवी पनि ओछ्यानमा गएर पल्टिई । सहर मरे जस्तै सुनसान थियो । रात क्रमश छिप्पिदै गयो ।

No comments

तपाई लाई लाग्छ कि यो वेबसाइट मा केही सच्याउनु पर्ने छ भने कमेन्ट गर्नु होला । तपाईको सल्लाह, सुझाव अतिनै आवश्यकता छ । तपाईले गर्नुहुने कमेन्ट लाई मान्यता दिँदै संसारको सामु पुर्याउने कोशिश गरिने छ । तपाईको कमेन्ट साधारण, सभ्य भाषा मा लेख्नु हुन विनम्र अनुरोध गरिएको छ । यो वेबसाइट लाई फल्हो पनि गर्नु होला । फल्हाे गर्नु भयो भने कुनै पनि नयाँ पोस्ट पोस्टिङ हुने बितिकै तपाईको सामु सही समय मा पुग्ने छ । धन्यवाद !