सबै कुरा विर्सन सक्नु पनि एक प्रकारको सुख प्राप्त गर्ने माध्यम हो । अरुको देख्नु र आफूसंग नहुनु नै दुःख हो भन्ने लाग्थ्यो । तर यसैमा पनि सन्...
सबै कुरा विर्सन सक्नु पनि एक प्रकारको सुख प्राप्त गर्ने माध्यम हो । अरुको देख्नु र आफूसंग नहुनु नै दुःख हो भन्ने लाग्थ्यो । तर यसैमा पनि सन्तुष्ट हुन सकिन । भौतिक सुख र सुविधाको खुशीमा बेलुनजस्तो भएर फुक्न चाहन्थे तर फुकिनै सकिनभन्दा हुन्छ । ************************************************************************************* अमेरिका आजको सबैको यो एउटा सपना बनेको छ आकर्षण बनेको छ । एकैपटक मात्र पुग्न पाए जीवन सार्थक ठान्नेहरुको भीड बढेको बढ्यै छ । यो स्वप्नभूमि अहिले अवसरको पनि भूमि बन्दै गएको छ । भौतिक विकासको सीमा नै छैन । यो मुलुक भित्रिनको लागि धेरैले धेरै कुरा गुमाएका छन् गुमाउन तयार हुन्छन् । प्राणकै बाजी लगाएर भाग्योदय चिठ्ठा खोल्नेहरु पनि त्यतिकै छन् । ************************************************************************************* आशाको अभिभावक बनेको यो मुलुकको जादू हेर्न मलाई पनि रहर लागेको थियो र पुगें नहतारिकन । अनुमतिको टाँचा लागेको साढे तीन वर्षपछि जाँदा मूलद्धारमा ६ महिनाको लागि ढोका खोलेको थियो तर आधा आधिमै फर्किएं । रमाउन नसकेर अझ भनौं बर्षौदेखि हुर्किएका आफ्नापनहरुलाई विस्रन नसकेर । अझैभन्दा सबै कुरा गुमाएर धनी बन्न नसकेर । अझैभन्दा मानवीय जीवनबाट यान्त्रिक जीवन बाँच्न नसकेर । अमेरिका पुग्नु जति आश्चर्य हुन्छ त्योभन्दा बढी आश्चर्य त्यहाँ पलायन नभएर फर्कदां हुने रहेछ । समान्यतया अमेरिका गएपछि फर्कने आशा कमैले गर्छन् । यस मामलामा पनि म निकै कमजोर सावित भएँ । ************************************************************************************ अलिअलि आफ्नो माटोमा उम्रेको लोकतन्त्रले पनि बल पुरर्याएकै हो । अब भने पक्कै जनताले चाहेको जस्तो तन्त्रको स्थापना भयो अब जनता नै शक्तिमान हुने आशा गोडेको थिएं तर नाङगो आँखाले छुन थालेपछि बिझ्न थालेको छु । ********************************************************************************** आज ठीक तीन दिन भयो सडकमा स्वतन्त्रले हिडन नपाएको ट्याक्सी चालक चूडामणि थापाको हत्याको क्षतिपूर्तिको माग राखेर सडकमा सवारीसाधन तेसा्रएर बाटो अवरोध गरिएको छ । अस्थायी शिक्षकहरु र आंशिक प्राध्यापकहरु स्थायी हुनुपरर्यो जुलुस र सडक अवरोध नै । लोकतन्त्रमा नभए कहिले हुनु स्थायी बाटो नमिची कसले पो थाहा पाउँछ र ? आन्दोलनमा वेपत्ता पारिएकाहरुका लास कि सास चाहियो भनेर माओवादीको जुलुसले पनि सडक अवरोध नै माओवादी पीडितहरु पनि सडकमै छन् भेला सफल पार्न पनि सडकमै जुलुस कसैको माग राख्न सडक दवाब दिन सडक शक्ति प्रदर्शन पनि सडक जसलाई जे गर्न मन लाग्यो त्यो गर्ने सडकमै भएपछि विचरा सडकले पनि कसलाई राम्रोसंग हिड्ने ठाउँ दिन सकोस् । *********************************************************************************** सडक र लोकतन्त्रको निकै ठूलो सम्बन्ध रहेछ । सडक यदि नहुँदो हो त लोकतत्रको गर्भ्र पनि बस्न पाउँथेन होला ? पहिले निश्चित दलले सडकलाई तताउँथे अहिले त दिनैपिच्छे । सातदल आठदल दरबार दल सत्ताको मात लागेकाहरुको दल स्वाद लिनखोज्नेहरुको दल । जुलुस धर्ना अनसन के-के हो के-के । हुन त हामी अभ्यस्त छौं यस्ता कुरामा । तर अहिले फरक छ । जसले जे मागे पनि हुन्छ हुने नहुने मिल्ने नमिल्ने जे पनि पूरा हुने र हुनसक्ने समय बनेको छ । यो स्वर्ण अवसर हो । यस्तो मौका फेरि आउला नआउला त्यसैले किन जुलुस अनसनको शुरु आजै नगर्ने यही भूतले बास गरेको छ लोकतान्त्रिक दिमागहरुमा । भोकै बस्न सक्नेहरुका लागि त झनै यो गुमाउनै नहुने अवसर बनेको छ । जीवनभरिमा आफूले गर्न नसक्ने काम छ भने आफूजस्तै भीड जम्मा गरेर आमरण अनसर बसेपछि भाग्योदय चिठ्ठाजस्तै विना परिश्रमको फल खान पाउने समय बनेको छ यो । *********************************************************************************** अन्यत्र भएका भद्रगोलहरु सजिलै सडकमा आउँदैनन् । तर सडकका दृश्यहरु सिनेमा हेरेजत्तिकै प्रष्ट छन् । सडकमा न कानुन छ न नियम । मिच्ने मिचिरहेका छन् देख्नेले देखिरहेका छन् । देखेपछि औलो ठढ्याउनु पर्नेले आँखा चिम्लिदिन्छन् । लोकतन्त्रको अगाडि सरकारी नुन खानेहरु मणि खोसिएका नागजस्ता बनेका छन् । नत्र किन एउटै राज्यभित्र दुई प्रकारका सेनाहरु आ-आफ्नो कर्तव्य पूरा गर्छन् किन राज्यमा दुई प्रकारको न्याय प्रणालीको व्यवस्था हुन्छ हिजो नदेखिएर दवाव दिनेहरु आज अर्कोले कमाएको भातदालको अंश दावी गरिरहेका छन् । हिजो पीडा दिनेहरु आज अरुको पीडाको विरुद्ध चर्को आवाज निकालिरहेका छन् । ************************************************************************************ अचम्मैको शक्ति हुँदोरहेछ लोकतन्त्रमा । आँट्न सक्नेले जे गर्न पनि पाइने । हिजो तिलस्मी नामका बहादुरहरु आज टेलिभिजनका पर्दामा मुस्कुराउन थालेका छन् प्रचण्डहरु हिजो पुलिसको दण्डा खानेहरु आज झण्डा फहराउने भैसकेका छन् । जनताको जुलुस भने हिजो थियो र आज पनि कायमै छन् । साँची जनताले नै भोग्न पाउने तन्त्रको नाम चाहि के होला ? ************************************************************************************ कसलाई विश्वास गर्ने कसलाई नगर्ने कुरा सबैका स्वादिला नै छन् र थिए पनि । नत्र किन अन्यायको विरोध गरेर जित्दा पनि अन्याय नै सहन पर्छ । यो कस्तो जित हो । खुशीयालीको गीत गाउँदा पनि पीडाको संगीत बज्ने । के जनताको काम भनेको जहिले पनि विरोधको जुलुसै मात्र निकालिरहने हो र पनचायतमा पनि विरोध गर्नु परर्यो र प्रजातन्त्र आयो प्रजातन्त्रमा पनि विरोध नै गरिरहनु परर्यो शाही सासनमा पनि लामा-लामा जुलुस निक्लिएकै थियों र अहिल पनि त्यही नियति भोग्न परिरहेको छ । जनताको काम भनेको प्रजातन्त्रमा जुलुसनै बनिरहनु हो त ? ********************************************************************************** यो समस्या जनता र नेतामा हुने गरेको ग्यापले नै हो । जनता स्वतन्त्रता खोज्ने नेता बाँध्न खोज्ने । जनता आफ्नो मत सम्झिने नेता बिस्रने । रोग नै यही हो । पटक पटकको असफलताको । समुद्र नभएको देश भएकोले पटक पटक सुनामी आउनु पर्छ । देखेर नदेखेझै गर्ने आँखाहरु खोलिदिनुपर्छ । पदको कुर्सिमा बसेपछि आफू र आफन्तका लागि मात्र मान्छे बन्ने प्रवृति हटाएर सबैका लागि मान्छे जस्तै बनाउनका लागि सुनामीहरु आउनै पर्छ । आफूले आफूलाई कसरी चिन्ने भन्ने कक्षा संसदसम्मै चल्नु पर्ने हो कि अहिले मान्छे भएर मान्छे हराइरहेको बेला मान्छेलाई मान्छे नै बनाउन सजिलो हुने कुरा त होइन ? ************************************************************************************ यस्तो भद्रगोल अवस्थामा किन फर्कनु हुन्छ कमाउनुस् र बस्नुस् भनेर मलाई सम्झाउने एक मित्रलाई सम्झिरहेको छु अहिले । उनी पैसाभन्दा ठूलो र शक्तिशाली अरु केही छैन भन्थे । आफूसंग पैसा भयो भने संधै जितिन्छ कहिले हारिदैन भन्ने मित्र सम्पूर्ण कुरा गुमाएर मात्र पैसाको पछि लागेका छन् । उनी न्युयोर्क सहरमा भेटिएका मित्र हुन् । मधुरो मधुरो परिचय भए पनि विदेशी माटोमा ठूलै हुन्छ । उनी तीन महिने कागज लिएर तीन वर्षदेखि बसिरहेका छन् । उनी भन्थे म पैसा कमाउन आएको हुँ कमाउँछु र त्यही पैसाले आफ्नो देश फर्केपछि भनेजस्तो हुन्छु बन्छु हेर्नु होला । उनी विश्वस्त छन् आफूप्रति । उनको आत्मविश्वासलाई सलामै गरें मैले । ************************************************************************************ मलाई उनको नाम काम भिसा र विश्वाससंग खासै मतलब थिएन । म घुम्न पुगेको थिएँ । त्यसैले तीन तीन वर्ष एउटै सहरमा विताइसकेको मान्छेबाट धेरै कुरा सिक्न सकिन्छ घुम्नको लागि भन्ने थियो । त्यही आसयले सोधेको थिएं - यहाँ घुम्न छुटाउनै नमिल्ने ठाँउहरु के के हुन् मेरो जिज्ञासाले उनी ओइलाएको कर्कलाजस्ता भएका थिए । उनको पैसा भए जे पनि हुन्छ भन्ने आत्मविश्वास पानीपानी भएको थियो । उनले निकै अप्ठेरो मान्दै भनेक थिए - भन्दा लाजै लाग्छ । म त कोठाबाट काममा जान्छु फेरि कोठा नै पुग्छु । यति गर्न नै समय भ्याइ नभ्याइ हुन्छ कहाँ घुम्नु । मैले अमेरिका देखेकॊ र घुमेको अहिले सम्म यति नै हो । तपाईं पत्याउनु हुन्छ तीन वर्षमा मैले पैसा कमाएको छु तर खर्च गर्नलाई फुस्रद नै पको छैन । यो पनि एउटा कीर्तिमानै हो । ************************************************************************************ कीर्तिमानकै दृष्टिले हामी कसैका सामु पनि गरिब छैनौ । अहिले खगेन्द्र थापा मगरको विश्व कीर्तिमानले हामी विश्वको सबैभन्दा अग्लो हिमाल भएको भूमि मात्र नभएर सबैभन्दा होचो मानिस भएको मुलुकका रुपमा समेत परिचित हुने भएका छौं । उनी १४ वर्षका भए बीस इन्चका छन् तौल पनि साढेचार केजी मात्र । बाग्लुङका खगेन्द्र थापामगरबाट विश्वको दुईदुईवटा कीर्तिमान तोडेर गिनिज बुक अफ वल्ड रेकर्डमा नाम लेखाउने भएका छन् । यो समाचारले पनि लोकतन्त्रै पर्खेको रहेछ । साचारको यस्तो विगविगी भएको बेला बाग्लुङको समाचार राजधानी आइपुग्न लोकतन्त्रै किन कुर्नुपरर्यो ? हुन त अझै ढिलो भएकै छैन रहेछ । गिनिज बुकमा आफ्नो नाम लेखाउन खगेन्द्रले अरु चार वर्ष पर्खनु पर्ने रहेछ । १८ वर्ष भन्दा कम उमेरको स्वास्थ्य परिक्षण गर्ने व्यवस्था नै रहेन छ । ************************************************************************************ सबैभन्दा अग्लो हिमाल पनि नेपालमै र सबैभन्दा होचा र कम तौलका पनि नेपाली नै । यो संयोगसंगसंगै सङ्केत पनि हुनसक्छ । प्राकृतिक स्रोतको धनी र मान्छेको जीवन गरिब । अग्लो सम्पन्नताको प्रतीक हो भने होचो विपन्नताको प्रतीक । यसले हामी जति धनी छौं त्यति नै गरिब भएको सङ्केत पनि हुनसक्छ । हो पनि हामी प्रकृतिमा असाध्य धनी छौ । त्यति नै यथार्थमा गरिब छौं । गरिब पनि धनको मात्र हैन मानिसकताको पनि गरिब । जलस्रोतका लागि धनी छौं तर बाल्नु परेको छ महङ्गो बत्ती त्यो पनि लोडसेडिङ भएर । यसले पनि प्राकृतिक स्रोत र उपयोगवीच भएको असमानतालाई नै सङ्केत गरेको हुनसक्छ । गरिब त गरिब नै हो नि आमाको कोखबाट जन्मेर रुनासाथ तेह्र हजारको क्रृण भार लाग्छ रे नेपाली नागरिक भएको नाताले । यो सत्य पनि सगरमाथाको अग्लाइ र खगेन्द्र थापाको उचाइजस्तै हो । प्रजातन्त्रकै सन्दर्भमा पनि सुहाउँदो संकेतजस्तो पटक-पटक प्रजातन्त्रको खेती प्रजातन्त्रमै गरिब बन्नु र्ने हाम्रो वाध्यता छ । *********************************************************************************** प्रजातन्त्र पनि विचरा कायल भइसक्यो होला ? कहिले कसको पोल्टामा पुग्छ कहिले कसको पोल्टामा । हिजो आज पनि र भोलि यस्तै हो किनभने हामी हामी नै हौं । कसैलाई विश्वास गर्ने स्थिति नै छैन । कसलाई पत्याउने ? आज मुस्काएको अनुहार भोलि भयावह रुपमा देखिन्छ । सबैको दुख सुख बुझ्ने महान् देखिएका मान्छेलाई समयले नाङगेझार पारिदिने गरेकै छ । साँचै समयका धेरै पर्दाहरु परिवर्तन भैसकेका छन् अब कसैले म नभए देश बर्वादै हुन्छ भन्ने भ्रम नराखे हुन्छ । हिजो ट्रकका ट्रक फूल बटुल्न फुस्रद नहुने हातहरु आज आफ्नै हातसंग खेलिरहेका छन् ।आज जिन्दावादका लागि उठेका हातहरु भोलि मूर्दावादमा उठिहाल्दा रहेछन् । जयजयकारमा ठूला र भारी शब्दहरुको गुणगान सुन्ने कानहरुले पनि सतर्क हुनैपर्छ । *********************************************************************************** सावधान लोकतन्त्रमा कसैको सपना खोस्न पाइदैन । हाँसो लुछ्न पाइंदैन विपनाको ईष्र्या गर्न पाँइदैन । कसैको आँसु बगाएको हेरेर रमाउन पाइंदैन । बाल बृद्धा युवासंग प्रश्न गरी-गरी दुख सुन्ने र आश्वासनको धाप दिने खेल अब सस्तोमा पनि विक्दैन । सबैलाई थाहा छ हत्केलाले सूर्यलाई कहिलै छेक्न सकिदैंन । नेपालमा जनमे पछि नेपालको माया गरेर मात्र पुग्दैन ! नेपाली भएको नाताले केहि त गरेर देखाउनुस !!!!!
No comments
तपाई लाई लाग्छ कि यो वेबसाइट मा केही सच्याउनु पर्ने छ भने कमेन्ट गर्नु होला । तपाईको सल्लाह, सुझाव अतिनै आवश्यकता छ । तपाईले गर्नुहुने कमेन्ट लाई मान्यता दिँदै संसारको सामु पुर्याउने कोशिश गरिने छ । तपाईको कमेन्ट साधारण, सभ्य भाषा मा लेख्नु हुन विनम्र अनुरोध गरिएको छ । यो वेबसाइट लाई फल्हो पनि गर्नु होला । फल्हाे गर्नु भयो भने कुनै पनि नयाँ पोस्ट पोस्टिङ हुने बितिकै तपाईको सामु सही समय मा पुग्ने छ । धन्यवाद !