अपावन धर्म' र 'पवित्र पाप' - DB BASNET

Page Nav

HIDE

Grid

GRID_STYLE

Classic Header

{fbt_classic_header}

Top Ad

Breaking News:

latest

Ad

अपावन धर्म' र 'पवित्र पाप'

 त्यसपछि भगवानले भन्नु भयो ...” ,   “भक्ति सूतेतौ तरूणा गृहत्वा...” , “श्रीकृष्ण गोविन्द हरे मुरारे...” यी वाक्यांशहरू वा यस्तै प्रवचन वा भ...

 त्यसपछि भगवानले भन्नु भयो ...” , 

 “भक्ति सूतेतौ तरूणा गृहत्वा...” , “श्रीकृष्ण गोविन्द हरे मुरारे...” यी वाक्यांशहरू वा यस्तै प्रवचन वा भक्ति सङ्गीतका धुनहरू तपाईँले पनि धेरै पटक चाहेर वा नचाहेरै पनि सुन्नु भएको होला । हो, मेरो जोड यस बेला ‘नचाहेर सुन्नु परेको’ धार्मिक आख्यानतर्फ केन्द्रित छ । कुरोको चुरोतर्फ सिधै जाँदा, केही दिन अगाडिदेखि मेरो घरको दुबैतर्फ देशमै नाम कहलिएका विद्वान् र प्रसिद्ध वाचक र पण्डितहरूद्वारा विविध ज्ञान महायज्ञ भइरहेको छ । 

 त्यसैले आजकल घरमा भएको बेलामा ‘धार्मिक’ हुनै पर्ने मेरो बाध्यता बनेको छ । आफ्नो निवास देखि दुबैतर्फ करिब करिब उत्तिकै दूरीमा २ जना प्रकाण्ड विद्वानहरूको महायज्ञ चल्दैछ र दुबैतर्फ उचाइमा जडिएका लाउडस्पीकरका ध्वनि –प्रतिध्वनि र मिस्रित ध्वनिले मेरा कानहरू पवित्र भइरहेका छन् । हावाको बहाव, पुराणको अन्तराल र कथा भित्रको उतार चडावका कारण छिनछिनमा ठूलो सानो हुने आवाजसँग आफ्नो लयवद्दता बन्न नसक्दा र कहिले एकातर्फ त कहिले अर्को तर्फबाट प्राविधिक कारणका कारण निस्कने प्रतिध्वनि र कर्कश नादका कारण बिस्तारै भजन र धार्मिक कृत्यमाथि नै वैराग्य उत्पन्न हुन थालेको छ अचेल । 

धर्म यसैमा पनि नितान्त व्यक्तिगत र मनोगत वृति हो । त्यसैले धार्मिक हुनु भनेको करिब करिब आत्म केन्द्रित वा चिन्तन परक हुनु हो भन्दा फरक पर्दैन । तर आजकल हामी कहाँ गज्जबको प्रचारात्मक र विज्ञापनात्मक धार्मिक कृत्यहरू हुन थालेका छन् । जहाँ भक्ति भन्दा देखावट, कीर्तन भन्दा प्रचार र ज्ञान भन्दा कल्पनाका डम्फुहरू बढ्ता बज्ने गरेका छन् । लाग्छ त्यहाँ कुनै धार्मिक पुराण वा कथा वाचन हैन, कुनै साङ्गीतिक कार्यक्रमको आयोजना हुँदैछ । पूजा सामाग्री केही कम भए पनि हुन्छ तर वाद्यवादनका सामाग्री छुट्नु हुँदैन्, देवताका तस्बिर र मूर्ति भलै होचा रहुन माइक राखिने स्थान अग्लै तोकिनु पर्छ, भक्तिभाव चाहे कसैमा जागृत गराउन सकियोस् नसकियोस् तर लाउड स्पिकरले वरिपरिका चार गाउँ चर्काउनै सक्ने हुनुपर्छ । 

आफूलाई धार्मिक भन्ने वा भक्त ठान्ने तथाकथित धर्मभीरूलाई यी कुराहरू चित्त नबुझ्लान्, तर मेरो अनुभवमा आजकलको धर्म बिस्तारै प्रचारमुखी र देखावटी हुँदै ढोंगतर्फ बढ्दै गएको छ । मानसिक मन्त्रका सट्टा ‘रेडिमेड’ भजन बज्छन्, ध्यानको सट्टा नृत्य त कथामा आध्यात्मिकताको सट्टा खरो मनोरञ्जन पस्कन आयोजक, प्रायोजक र वाचक-चपवाचक सबै लागेको प्रष्टै हुन्छ । कुरा फेरि महायज्ञकै गरौँ । मेरो घरसँगै १-२ जना भाइबहिनीहरु एस. एल. सी. परीक्षाको तयारीमा लागेका छन् । 

दिनभर दुवै तर्फबाट आउने प्रवचनका स्वर र धार्मिक सङ्गीतले तीनलाई कत्ति सास्ती भएको होला म सहज बुझ्न सक्छु । प्रवचन वा कथा वाचन सक्कने बित्तिकै बजाई हालिने टेप रेकर्डका धार्मिक सङ्गीत अबेर रातीसम्म बन्द नहुनाले “भैगो नि त ... कथा सक्केपछि ध्यानसँग पढौँला” भन्न पनि तिनले पाएका छैनन् । पुराण सक्कने बित्तिकै भजन र भजन रोक्ने बित्तिकै कथा वाचन गर्ने यस्तो व्यवस्थित क्रम चलेको छ कि कुनै पनि बेला वातावरणमा “हरी नाम” को रिक्तता रहेको छैन् । म सोच्दैछु, कोही परीक्षाको तयारीमा होलान्, कसैको घरमा बिरामी होलान्, कोही कुनै जरुरी काम सक्ने तरखरमा त कोही तनावबाट केही छिनको मुक्तिको लागि आरामको खोजीमा। तर जहिले सम्म यो धार्मिक कृत्य जारी रहन्छ तबसम्म ती सबै कुराहरू सम्भव देख्दिन म । 

अहिले सबैले अघोषित रूपमा धार्मिक हुनै पर्ने र चाहे व नचाहेपनि सो कृत्यमा बाध्यत्मक रूपमा सरिक हुनै पर्ने माहौल बनेको छ । एस. एल. सी. परीक्षाको तयारीमा रहेको विद्यार्थी चित्त नबुझे पनि न त पढ्ने समय कटाएर कुनै यज्ञ 'बिथोल्न' जाने हिम्मत गर्न सक्छन् न त कुनै गृहस्थ वा गाउँले ‘धर्म विरोधी’ वा ‘पापी’ हुने डरले सो को विरोध गर्न साहस गर्छन । अनि नित्य निरन्तर एक ठाउँबाट अर्को ठाउँमा चलिरहन्छन यो धार्मिक प्रताडन । म जन्मले हिन्दू र संस्कारले अध्यात्मवादतर्फ आकर्षण भएको व्यक्ति हुँ । तर मेरो सानो अध्ययनमा धर्मलाई यसरी अवमूल्यन गर्ने गरी विज्ञापनको शैलीमा जाने व्यवस्था हाम्रो धर्ममा कतै छैन् । हो, किर्तन, जप, नगर परिक्रमा आदिजस्ता पद्धतिहरू हाम्रा धर्ममा छन्।

तर धार्मिकताको नाममा अनुष्ठानशालाको चारैतर्फ माईक राखेर वैदिक मन्त्रलाई गीत वा भाषण बनाएर भट्टाउने विधि कतै छैनन् । हो, समाजमा धर्मको प्रचार वा धार्मिक जागरणको कार्य हुनु पर्छ तर त्यसको प्रक्रिया धर्मकै अवमुल्यन गर्ने वा धर्मको उपहास उडाउने हुन हुँदैन । शास्त्रमा ठाउँ ठाउँमा भगवत साधना, मन्त्र वा ज्ञानलाई “गोप्यं गोप्यं परम गोप्यं...” वा “गोप्यं गोप्यं पुनरपि गोप्यं...” भनेको मैले धेरै ठाउँमा भेटेको छु तर माईकै लगाएर सबैलाई सुनाउने उपक्रमको चर्चा कतै पाईदैन् । माथि नै भनिसकेँ, धर्म नितान्त वैयक्तिक वृती हो। न कुनैपनि समाजले एकै पटक ज्ञान प्राप्त गर्न सक्छ न त कुनै पनि दवावमूलक धर्मले कसैलाई स्वतन्त्र गर्न सक्छ । धर्म वास्तवमा परम स्वतन्त्रताको अनुभूति हो जहाँ मानिस समाज, राजनीति, सम्प्रदाय मात्रै हैन्, आफ्नै शारीरिक बन्धन वा सिमीतताबाट समेत उठेर स्वतन्त्र हुन्छ । जुन स्थितिमा पुगेर कुनै जीवात्माले "एकोहम द्वितियोनास्ति" वा “अहं ब्रम्हास्मी” को उदघोष गर्न सक्छ । 

यस्तो धर्मलाई “माईकबाजीको” विज्ञापनमा उतार्नु पक्कै पनि सही होइन । धर्मको धारणा जरुरी होला तर प्रदर्शन पक्कै पनि सही हुँदैन्, धार्मिक निमन्त्रणलाई उचित मान्न सकिएला तर तड़क-भड़कको समर्थन गर्न सकिदैँन् । त्यसैले धार्मिक कृत्य 'धार्मिक' जस्तै होस भन्ने मेरो मान्यता हो । त्यसैले धार्मिक आयोजनाहरूमा यस्ता लाउडस्पीकरहरूको प्रयोग हट्नै पर्छ । मलाई लाग्छ धार्मिक आयोजनाहरूमा लाउडस्पिकर लगाएर धर्म पक्कै हुँदैन् र तीनलाई हटाउँदा पाप पनि लाग्दैन् । यदि धार्मिक कृत्यमा राखेको माईकले धर्म प्रचार गर्छ भन्ने कोही सोच्छन भने त्यो गलत हुनेछ । मेरो विचारमा धार्मिक शास्त्र वा पुराण कतै अवर्णित माइकिङ्गबाजी धार्मिक दृष्टिले नै गरिएको भएपनि “अपावन धर्म” हो भने त्यो निरर्थक विज्ञापन बाजी हटाउनु धर्मभीरुले नबुझे पनि एउटा “पवित्र पाप” हुनेछ । 

अन्तमा घर नजिकै हीँड्दै गर्दा अस्तिको दिन मेरो कानमा कुनै एक तर्फको माइकबाट आवाज आयो “ कण कणमा छन् राम” । म सोच्न थालेँ, ती वाचकले सो कुरा आफैँले बुझेका भए किन भनि रहनु पर्थ्यो ? । किनकि कण-कणमा भगवान छन् भने ती भन्नेमा, सुन्नेमा र नसुन्नेमा समेत छन् नै । यस्तो स्थितिमा कसले कसलाई किन भनि रहनु पर्यो् (वा अझ प्रस्ट गरी भन्दा ‘कुन रामले कुन रामलाई सो कुरा भन्ने हो)। हैन, तीनले नबुझीकनै सो वाक्यको प्रयोग गरेको हो भने कमसेकम नजानेको कुरा बोल्नु हुन्न भन्ने सामान्य लज्जा तीनमा हुनु पर्ने हो । ॐ शान्ति ! शान्ति !! शान्ति !!!

No comments

तपाई लाई लाग्छ कि यो वेबसाइट मा केही सच्याउनु पर्ने छ भने कमेन्ट गर्नु होला । तपाईको सल्लाह, सुझाव अतिनै आवश्यकता छ । तपाईले गर्नुहुने कमेन्ट लाई मान्यता दिँदै संसारको सामु पुर्याउने कोशिश गरिने छ । तपाईको कमेन्ट साधारण, सभ्य भाषा मा लेख्नु हुन विनम्र अनुरोध गरिएको छ । यो वेबसाइट लाई फल्हो पनि गर्नु होला । फल्हाे गर्नु भयो भने कुनै पनि नयाँ पोस्ट पोस्टिङ हुने बितिकै तपाईको सामु सही समय मा पुग्ने छ । धन्यवाद !